
निरन्जन शाह , बिरगंज
२९ कार्तिक – विश्व मधुमेह दिवसको अवसरमा आज बिरगंजको वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्यो। मधुमेह र कल्याणको सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्यले अस्पतालको परिसरमा सम्पन्न भएको यो कार्यक्रम “नोभेम्बर १४: विश्व मधुमेह दिवस मनाऔं” भन्ने नाराका साथ सुरु भएको थियो।
कार्यक्रमको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले २०८१ साल कार्तिक २० देखि ३० सम्म दसदिने विशेष सचेतना कार्यक्रममार्फत विशेष छुटमा मधुमेह सम्बन्धी उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ। आजको कार्यक्रममा मधुमेहको लक्षण देखिएका बिरामीहरूको लागि निशुल्क जाँच सेवा समेत उपलब्ध गराइएको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी प्रमुख अतिथि रहेका थिए भने कलेजका प्राचार्य प्रा. डा. के.एन. सिंह, डा. इसरत जहान, डा. आबिद हुसैन अन्सारी लगायत अन्य प्रतिष्ठित व्यक्तिहरू अतिथिको रूपमा उपस्थित थिए।
उक्त रक्तदान कार्यक्रममा पाँच महिला सहित ५७ जना व्यक्तिहरूले आफ्नो अमूल्य रगत दान गरे। रगत दान गर्नेहरूमा डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद डिओ, महम्मद जुनैद, प्रदिप कुमार चौधरी, मुकेश कुशवाहा, राम जी प्रसाद कुशवाहा, रबिन्द्र यादव, राजिव कुमार चौधरी, नवल किशोर यादव, डा. गुरु प्रसाद मैनाली, काजल कुमार गुप्ता, सुधा कुमार, सुरेश साह तेलि, र कुशल सुबेदी लगायतका व्यक्तिहरू रहेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष गुप्ताको उपस्थितिमा र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको रक्त सञ्चार केन्द्रका प्राविधिकहरू कृष्ण निराला, बिनेश चौधरी, निरज चौधरी लगायतको सहयोगमा कार्यक्रम सम्पन्न भयो।