
वीरगञ्ज, २८ जेठ — वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले अबदेखि नेपाल प्रहरीका हाल कार्यरत, भूतपूर्व प्रहरी कर्मचारी तथा तिनीहरूका परिवारलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने भएको छ। यो सुविधा प्रदान गर्न आज नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्साबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार सेवामा रहेका प्रहरी, निवृत्त प्रहरी र उनीहरूका आश्रितहरूले कलेजमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा ८ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौतामा कलेजका तर्फबाट प्रबन्धक शाहनवाज अन्सारी र प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हस्ताक्षर गरेका थिए।
कलेजका प्रबन्धक अन्सारीका अनुसार, हाल कार्यरत प्रहरी कर्मचारीहरूलाई ओपीडी टिकटमा ५० प्रतिशत छुट दिइनेछ भने बेड, केबिन, आईसीयू, एनआईसीयू, पेडियाट्रिक आईसीयूजस्ता सुविधामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै भिडियो एक्सरे, सामान्य एक्सरे र इसीजी सेवाहरूमा पनि समान छुट प्रदान गरिनेछ।
भूतपूर्व प्रहरी तथा उनीहरूका परिवारजनले भने ओपीडीमा ५० प्रतिशत र अन्य सेवा–सुविधामा २० प्रतिशत छुट पाउनेछन्।
सम्झौतासँगै आयोजित कार्यक्रममा कलेजका सञ्चालक प्रा.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिशन विभाग निर्देशक आबिद हुसैन अन्सारी, प्रहरी नायब उपरीक्षक सुबास भट्टलगायतको उपस्थिति रहेको थियो।