
१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले सधैं आतंकवादको कुनै पनि रुपलाई अस्वीकार गर्दै आएको र जुनसुकै स्वरुपको हिंसात्मक गतिविधिको कडा विरोध गर्ने स्पष्ट पारेकी छिन्।
भारतको काश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा मन्तव्य दिँदै मन्त्री राणाले नेपाल सधैं शान्तिको पक्षमा अडिग रहेको बताइन्।
“नेपालले आतंकवादका सबै प्रकारका गतिविधिहरूको घोर निन्दा गर्छ र जहाँसुकै, जसलेसुकै कारणले आतंक मच्चाए पनि त्यसको विरुद्ध दृढतापूर्वक उभिन्छ,” मन्त्री राणाले प्रष्ट पारिन्।
उनले आतंकवादप्रति दृष्टिकोणमा कहिल्यै दुईथरी मापदण्ड नअपनाउनु पर्नेमा जोड दिँदै भनिन्, “नेपालले आफ्नो भूमिलाई कुनै पनि आतंकी गतिविधिका लागि प्रयोग हुन नदिने कडा प्रतिबद्धता व्यक्त गरेको छ।”
काश्मिरको घटनालाई लिएर नेपालले गम्भीर रूपमा आपत्ति जनाएको उल्लेख गर्दै मन्त्री राणाले पीडित भारतीय परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिन्। साथै, उनले भारत सरकार र जनताको दुखद घडीमा नेपाल उनीहरूका साथ रहेको बताएर समर्थन व्यक्त गरिन्।
नेपाल र भारतबीचको सम्बन्धबारे बोल्दै मन्त्री राणाले दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक सीमितता नभई साझा इतिहास, संस्कृति र जनस्तरको सहकार्यमा आधारित रहेको उल्लेख गरिन्।
यही प्रसंगमा, पहलगाम घटनामा परेका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याउन भारत सरकारले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले भारतप्रति धन्यवाद पनि प्रकट गरिन्।
कार्यक्रमको अन्त्यमा मन्त्री राणाले आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी थिइन्।