वीरगञ्ज महानगरपालिका–३२ स्थित श्री दलित मुक्ति आधारभूत विद्यालय रामबनमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वविद्यार्थीहरूको तर्फबाट न्यानो सहयोग प्राप्त भएको छ। श्री नेपाल रेल्वे विद्यालयको २०७० सालको ब्याचमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूले विद्यालयका विद्यार्थीहरूका लागि ६० थान स्विटर तथा भेस्ट हस्तान्तरण गरेका हुन्।
चिसो मौसमका कारण विद्यार्थीहरूलाई पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको जनाइएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
यस सहयोग कार्यलाई सफल बनाउन उक्त विद्यालयमा कार्यरत शिक्षक सन्तोष सराफले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाताहरूले बताएका छन्। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गरिएको यस किसिमको पहलले विद्यार्थीहरूमा उत्साह थपिएको विद्यालय परिवारको भनाइ छ।
स्थानीयस्तरमै शिक्षा र विद्यार्थी कल्याणका लागि गरिएको यो प्रयासलाई उदाहरणीय कदमका रूपमा लिइएको छ।


