वीरगंज – नेपाल महिला संघ पर्साका सभापति किरण शर्माको नेतृत्वमा आज पर्सामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभयो। बैठकमा महिला सशक्तिकरण, पार्टीको आगामी रणनीति र स्थानीय तहमा महिलाको सहभागिता बढाउने विषयमा विशेष छलफल भएको थियो।
राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलालाई पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै नेपाल महिला संघले पार्टी निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले लोकतन्त्र, सामाजिक न्याय र समावेशिताको संरक्षणमा महिलाको सक्रिय भूमिकालाई अनिवार्य ठहर गर्दै महिला संघलाई अझ सशक्त, संगठित र क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो।
क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान उल्लेखनीय रहेको बताए। उहाँले महिला संघले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति र विचार जनसामु पुर्याउने काम अग्रणी ढंगले गर्दै आएको औंल्याउँदै आगामी निर्वाचनमा उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्नुभयो।
प्रधान अतिथि र उम्मेदवार अनिल रुङटाले पनि महिला संघको सशक्त भूमिकाले मात्र पार्टीलाई निर्वाचनमा सफलता दिलाउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीमा ठोस काम गर्ने प्रतिबद्धता जनाउँदै उत्तरदायी र परिणाममुखी राजनीतिमा विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
बैठक सभापति किरण शर्माले धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभयो। बैठकले नेपाल महिला संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई मजबुत बनाउने निष्कर्ष निकालेको छ।


