Oplus_16908288
नेपाल सरकारले कूटनीतिक सद्भावस्वरूप कतार सरकारलाई उपहार दिएका दुईवटा हात्ती आज औपचारिक रूपमा कतार पठाएको छ। चितवनको सौराहाबाट खोरसहित ट्रकमार्फत भैरहवा ल्याइएका ती हात्तीलाई कतार एयरवेजको चार्टर कार्गो विमानबाट दोहा पठाइएको हो।
कतार एयरवेजको उडान नम्बर क्यूआर–८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज आज साँझ ५ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। सो विमानमा खगेन्द्रप्रसाद र रुद्रकली नामका भाले–पोथी हात्ती कतारतर्फ प्रस्थान गरेका हुन्।
गत वर्ष विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज ती हात्ती हस्तान्तरण तथा प्रेषण गरिएको हो।
चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएका र तालिम प्राप्त गरेका यी हात्ती छनोटमा परेका थिए। सात वर्षीया पोथी हात्ती रुद्रकली र पाँच वर्षे भाले हात्ती खगेन्द्रप्रसादलाई उपहारका रूपमा पठाइएको हो।
भैरहवा विमानस्थलमा आयोजित संक्षिप्त कार्यक्रममा नेपाल सरकारका अधिकारी र नेपालस्थित कतार दूतावासका प्रतिनिधिको उपस्थितिमा हात्ती औपचारिक रूपमा कतार सरकारलाई हस्तान्तरण गरिएको थियो। वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कतार दूतावासका डेपुटी चिफ अफ मिसन खालिफा अल्मारीलाई हात्ती सुपुर्दगी गरेका थिए। त्यस अवसरमा हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो।
वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, साइटिस प्रमाणपत्र, स्वास्थ्य परीक्षणलगायत सबै आवश्यक कानुनी प्रक्रिया पूरा गरी विशेष कार्गो विमानमार्फत हात्ती दोहा पठाइएको मन्त्रालयले जनाएको छ। कतारको राष्ट्रिय दिवसको सन्दर्भमा पठाइएको यस उपहारले नेपाल–कतार सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
हस्तान्तरण समारोहमा सचिव मिश्रले यस कदमले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ मजबुत बनाउने बताए। कतार दूतावासका डेपुटी चिफ अफ मिसन अल्मारीले हात्ती उपहारप्रति आभार व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका थिए।
(रासस)


