६ वैशाख, काठमाडौं ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम र निर्णायक खेल वर्षाले प्रभावित हुँदा नेपालले बहुप्रतिक्षित विश्वकपको यात्रा गुमाउनु परेको छ । शुक्रबार बिहान काठमाडौंमा नेपाल र अफगानिस्तानबीचको खेल हुनै नसक्दा अफगानिस्तान नेट रनरेटको आधारमा विश्वकपमा छनोट भएको हो ।
खेल सुरु हुनु अघिनै परेको लगातार वर्षाले त्रिवि मैदान खेलका लागि अयोग्य बनेको थियो । करिब पाँच घण्टा मैदान सुकाउने प्रयास गरिएपनि केहि भाग खेल योग्य बन्न सकेन । तीनपटक अम्पायरले मैदानको निरीक्षण गरेपछि अन्ततः खेल रद्द गरिएको घोषणा गरियो ।
समूह चरणमा नेपाल र अफगानिस्तान दुवै टोलीले तीन–तीन खेल जितेका थिए । आजको खेल बराबरी भएपनि दुवैको अंक ७–७ हुने तय थियो । तर, नेट रनरेटमा अफगानिस्तान अघि रहेकाले उसैले विश्वकपको टिकट हात पार्यो ।
वर्षाको कारण खेल हुन नसक्दा नेपाली युवा टोलीको मेहनत र सपनामा पानी फेरिएको छ । घरेलु मैदानमा भएको छनोट प्रतियोगितामा दर्शकहरूले गरेको अपेक्षा पनि अधुरो रह्यो ।


