वीरगन्ज, २२ माघ – वीरगन्जस्थित नारायणी अस्पतालमा ५०० शैयाको नयाँ भवन निर्माण प्रक्रिया लामो समयदेखि अन्योलमा परेपछि चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन चर्काएका छन्। यस आन्दोलनलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले ऐक्यबद्धता जनाउँदै सरकारलाई छिटो समाधान खोज्न आग्रह गरेको छ।

पाँच वर्षअघि मन्त्रीपरिषद् बैठकले नारायणी अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा घोषणा गर्दै पाँच तले भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो। तर, शहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनीबीचको विवाद अदालतसम्म पुगेपछि परियोजना अल्झिएको हो। सर्वोच्च अदालतमा यो मुद्दाको सुनुवाइ माघ २८ गते तोकिएको छ।
गत शुक्रबार अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरूले एप्रोनसहित सडकमा उभिएर धर्ना दिएका थिए। उनीहरूले अदालतले छिटो निर्णय गरी निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
यही विषयलाई लिएर मंगलबार नेविसंघ पर्साका नेताहरूले अस्पतालमा उपस्थित भई समर्थन जनाएको नेविसंघ पर्साका सभापति रमेश यादवले जानकारी दिए। उनले भवन निर्माण संघर्ष समितिका संयोजक तथा बरिष्ठ चिकित्सक डा. नीरज सिंहलाई ऐक्यबद्धता पत्र हस्तान्तरण गरेका थिए। साथै, सरकारले अविलम्ब प्रक्रिया अघि बढाउनुपर्ने माग समेत राखिएको छ।
यस कार्यक्रममा नेपाली कांग्रेस पर्साका सदस्य रामनिवास यादव, नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने, युवा नेता मनिष यादव, उपाध्यक्ष बर्कत आली, सचिव पवन पटेल, प्रकाश रौनियार, विकास मण्डल, दिलीप साह, अब्दुल अन्सारी, सैलेष साह, जय नेपाल चौरसिया लगायतको उपस्थिति रहेको थियो।


