माघ १८, वीरगञ्ज
वीरगञ्जस्थित नारायणी अस्पतालको दयनीय अवस्था र सरकारी बेवास्ता विरुद्ध यहाँ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरू राजमार्गमा उत्रेर आन्दोलन गर्न बाध्य भएका छन्। नेपालको पुरानो तथा महत्वपूर्ण अस्पतालहरूमध्ये एक नारायणी अस्पताल भौतिक संरचनाको जर्जर अवस्थाले ग्रसित छ, जसले यहाँ उपचार गराउन आउने बिरामीहरू र सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरू दुवैलाई कठिनाइ पुर्याइरहेको छ।
१०० वर्षभन्दा पुरानो अस्पताल, तर हाल जिर्ण अवस्थामा
वीर अस्पतालसँगै स्थापना भएको नारायणी अस्पतालको ऐतिहासिक महत्व भए पनि राज्यको उपेक्षाका कारण यस संस्थाको भौतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ। तत्कालीन श्री ५ पृथ्वी वीरविक्रम शाहको शासनकालमा वीरगञ्ज तथा वरपरका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन स्थापना गरिएको यो अस्पताल हाल भवन जीर्ण र असुरक्षित हुँदै गएकाले बिरामीहरू उपचार गर्न त्रसित भइरहेका छन्।
हाल नारायणी अस्पताल ३०० शैयासहित सञ्चालनमा रहेको छ, तर अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसक्दा पनि यहाँ पुरानै जीर्ण संरचनामा सेवा प्रवाह भइरहेको छ।
५०० शैयाको नयाँ भवन निर्माण अलमलमै
नेपाल सरकारले आर्थिक वर्ष २०७४-७५ मा प्रत्येक प्रदेशमा ५०० शैयाको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो। त्यसै अनुरूप नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोडको लागतमा नयाँ भवन निर्माण गर्न ठेक्का प्रक्रियासमेत अघि बढाइएको थियो। तर विवादित ठेक्का प्रक्रियाका कारण निर्माण कार्य अदालतमा पुगेको र अहिलेसम्म कुनै ठोस निर्णय नआएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
नयाँ भवन बन्न ढिलाइ हुँदा स्वास्थ्यकर्मीहरू असहज परिस्थितिमा बिरामीहरूको उपचार गर्न बाध्य छन्। अधिकांश भवनहरू चर्किएको, कमजोर र जीर्ण भइसकेका छन्, जसले बिरामी, कुरुवा र चिकित्सकहरूलाई हरेक दिन जोखिममा राखिरहेको छ।
भवन जुनसुकै बेला भत्किन सक्छ: डा. नीरज कुमार सिंह
सरकारलाई तत्काल नयाँ भवन निर्माण थाल्न दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथमा सडक अवरोध गर्दै आन्दोलन गरेका छन्।
भवन निर्माण संयोजन समितिका अध्यक्ष डा. नीरज कुमार सिंह भन्छन्,
“नेपालका प्रमुख सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको छ, तर नारायणी अस्पताल अझै पनि पुरानै जिर्ण भवनमा सीमित छ।”
उनका अनुसार, यो अस्पतालमा लाखौँ जनताले भर परेका छन्, तर सरकारले दिगो समाधान खोज्न गम्भीर चासो देखाएको छैन।
“हामी स्वास्थ्यकर्मीहरू दैनिक काम गर्ने क्रममा डरभित्र बाँच्नुपरेको छ। कहिले भवन खस्छ भन्ने कुनै टुंगो छैन।”
३० लाख जनसंख्याको भरपर्दो सेवा केन्द्र, तर बेवास्तामा
नारायणी अस्पतालले पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रका नागरिकहरूलाई समेत स्वास्थ्य सेवा दिँदै आएको छ। तर संरचनागत अभाव तथा सरकारी उपेक्षा का कारण यहाँका स्वास्थ्यकर्मीहरूले पूर्ण क्षमतामा सेवा दिन नसकेको गुनासो गरिरहेका छन्।
नेपाल सरकारको स्वास्थ्य नीति अनुसार अस्पताल भवनहरू भूकम्प प्रतिरोधी हुनुपर्ने उल्लेख छ, तर नारायणी अस्पताल आफैं जोखिमयुक्त पुरानो संरचनामा सञ्चालन भइरहेको छ।
राजनीतिक नेतृत्वको असफलता, जनताको निराशा
यस क्षेत्रका सांसदहरूले पटक-पटक नारायणी अस्पतालको सुधारको माग उठाए पनि अहिलेसम्म कुनै ठोस पहल भएको छैन। नागरिक समाज तथा स्थानीय जनताले पनि राज्यको लापरबाहीप्रति असन्तोष व्यक्त गरिरहेका छन्।
स्वास्थ्यकर्मीहरू भन्छन्,
“हाम्रो माग पूरा नभए थप कडा आन्दोलन गर्छौँ। अब पनि सरकारले बेवास्ता गरेमा स्थानीय जनता र स्वास्थ्यकर्मीहरू संयुक्त रूपमा सडक आन्दोलन गर्न बाध्य हुनेछन्।”
सरकारले छिटो निर्णय नगरेमा स्वास्थ्य सेवा प्रभावित हुने मात्र होइन, जनताको ज्यानसमेत जोखिममा पर्न सक्छ, जसको सम्पूर्ण जिम्मेवारी नीतिनिर्माताहरूले लिनुपर्ने चेतावनी आन्दोलनकारीहरूले दिएका छन्।


