
बैशाख २१ — वीरगञ्जस्थित नारायणी अस्पतालमा निर्माण गरिएको आकस्मिक कक्ष भवनमा देखिएको व्यापक अनियमितता र भ्रष्टाचारसम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ कि भवन निर्माणका क्रममा प्रयोग गरिएको ‘इन्टरलक ब्लक’ निर्धारित मापदण्ड विपरीत रहेको, M35 ग्रेडको गुणस्तर नपुगेको सामान्य ब्लक प्रयोग गरिएको, प्रस्तावमा उल्लेख भएअनुसार बहुरंगी ब्लकको सट्टा ग्रे रङ मात्र प्रयोग गरिएको, र ठेक्का सम्झौताविपरीत सामग्री आपूर्ति गरिएको प्रमाणित भएको हो।
आयोगको अनुसन्धान अनुसार, झण्डै ३ करोड ४६ लाख रुपैयाँ बराबरको सरकारी क्षति हुने गरी योजनामा अनियमितता गरिएको देखिएको छ। यो सम्पूर्ण प्रक्रियामा सरकारी कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गरिएको छ।
आरोपितहरूमा अस्पतालका तत्कालीन मेडिकल सुपरीटेण्डेन्ट डा. संजयकुमार ठाकुर, सार्वजनिक निर्माण तथा भवन कार्यालय पर्साका तत्कालीन प्रमुख इञ्जिनियर राजेन्द्र साह, इञ्जिनियर एम. सफुर भनभरी, नारायणी अस्पतालकै तत्कालीन यान्त्रिक इञ्जिनियर सुविनकुमार यादव, सेवा खरिद अधिकृत बृजकुमार मावी तथा निर्माण कम्पनी लुम्बिनी मिसन जेभी (Lumbini Mission JV) का प्रतिनिधिहरू रहेका छन्।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा अघि बढाएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विशेष अदालतमा मुद्दा दायर गरिसकिएको जानकारी दिइएको छ।