वीरगञ्ज, ७ भदौ ।
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) मधेस प्रदेशको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार वीरगञ्जमा बसेको प्रदेश बैठकले सर्वसम्मत निर्णयमार्फत राहुल अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।
वीरगञ्जस्थित होटल पूजनमा सम्पन्न कार्यक्रममा १६ सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो । निर्वाचन अधिकृत प्रज्वल अधिकारीका अनुसार, प्रथम उपाध्यक्षमा विवेक बेरिवाल, द्वितीय उपाध्यक्षमा सन्तोष जयसवाल, महासचिवमा अभिषेक चौधरी, सचिवमा मुरारी कुमार रौनियार, कोषाध्यक्षमा दीपेन्द्र खेतान, सह-कोषाध्यक्षमा वीरेन्द्र कुमार रौनियार, जनसम्पर्क अधिकृतमा राजु गुप्ता र सञ्चार संयोजकमा सन्दीप अग्रवाल चयन भएका छन् ।
त्यस्तै सदस्य पदमा विजय अग्रवाल, दीपेन्द्र कुमार खेतान, सञ्जय कुमार अग्रवाल, अनुप कुमार अग्रवाल, विकास ठाकुर, सन्दीप कुमार महतो, आनन्द अग्रवाल र रवि कुमार सिकारिया रहेका छन् ।
नव निर्वाचित अध्यक्ष राहुल अग्रवालले आफ्नो टिमले अटोमोबाइल व्यवसायलाई व्यवस्थित, पारदर्शी र ग्राहकमैत्री बनाउन प्राथमिकता दिने बताए । “हाम्रो उद्देश्य मधेस प्रदेशको अटोमोबाइल क्षेत्रमा नीतिगत सुधार ल्याएर व्यवसायीहरूलाई सहज वातावरण उपलब्ध गराउनु हो,” उनले भने । अग्रवालले अनुभवी तथा ऊर्जावान् व्यक्तिहरूको समावेश भएको समितिले व्यवसायीहरूको समस्या समाधान गर्ने र ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा सहभागी पदाधिकारीहरूले सबै पदमा सर्वसम्मति कायम भएको जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले भने, “एकताबद्ध प्रयासमार्फत बनेको यो कार्यसमिति प्रदेशको अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा बोकेर अघि बढ्नेछ ।”
नवगठित नेतृत्वले बजार विस्तार, प्राविधिक नवप्रवर्तन, व्यवसायी क्षमता अभिवृद्धि तथा तालिम–कार्यशाला सञ्चालनलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गरेको छ ।
मधेस प्रदेश देशको अटोमोबाइल बजारको प्रमुख केन्द्र मानिन्छ । विशेषगरी वीरगञ्ज र जनकपुरलगायतका सहरहरूमा यस क्षेत्रको योगदान स्थानीय अर्थतन्त्रमा उल्लेखनीय रहेको छ । नयाँ कार्यसमितिले यही योगदानलाई अझै बलियो बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


