
१४ वैशाख, काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा शनिबार तनावपूर्ण स्थिति सिर्जना भएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्दै नियन्त्रणमा ल्याउने प्रयास गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपीलराज बोहोराका अनुसार, आन्दोलनकारीहरूले प्रहरीद्वारा राखिएको अवरोध हटाउन खोजेपछि पानीको फोहोरा प्रयोग गरिएको हो। “स्थिति अहिले नियन्त्रणमा छ, कुनै ठूलो घटना घटेको छैन,” उनले सञ्चारकर्मीहरूसँग भने।
शिक्षक महासंघले विगत २६ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिँदै आएको छ। शनिबार बिहान ११ बजेपछि उनीहरूले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म सडक अवरुद्ध गर्दै सरकारको ध्यानाकर्षण गराउन खोजेका थिए। सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन भएपछि सडकमा आक्रोश बढेको हो।