
काठमाडौँ । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच भएको झडप कभरेज गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन्। समाचार सङ्कलनका क्रममा प्रहरीले प्रहार गरेको पानीको फोहोरा कार्कीको आँखामा सिधै लागेपछि उनी घाइते भएकी हुन्।
घटनापछि कार्कीलाई सिभिल अस्पताल हुँदै ट्रमा सेन्टरमा प्रारम्भिक उपचार गरिएको थियो भने अहिले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
नेपाल पत्रकार महासङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विज्ञप्ति निकालेको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र नागरिकको सूचना पाउने संवैधानिक अधिकारमाथि भएको यो प्रहार दुःखद र निन्दनीय भएको उल्लेख गरिएको छ।
महासङ्घले घाइते कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा कार्कीको सम्पूर्ण उपचार व्यवस्थापन सुनिश्चित गर्न सरकारसमक्ष माग राखेको छ।