जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहा क्षेत्रमा एक युवकको शव बोराभित्र फेला परेको छ।

परशुराम तलाउ नजिकै पुलमुनि बोरामा राखिएको अवस्थामा करिब ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार शवको पहिचान खुल्न सकेको छैन। अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको विशेष टोली परिचालन गरिएको छ।
स्थानीयले बिहीबार दिउँसो करिब ३ बजेतिर पुलमुनि बोराभित्र शव रहेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शवको प्रकृति र अवस्था हेर्दा यो हत्या हुनसक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार घटनास्थलमा फरेन्सिक टोली पनि पठाइएको छ।


