

पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्ममा तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ कार्य पूरा भएको छ भने अब ७० मिटर मात्र खन्न बाँकी छ।

गत वैशाख २८ गतेदेखि प्रारम्भ भएको यो परियोजनाको ड्रिलिङ कार्य यो महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीले ड्रिलिङ प्रक्रिया तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने जानकारी दिए।
चिनियाँ प्राविधिक सहयोग
चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। हाल ड्रिलिङ कार्य पनि तीव्र गतिमा भइरहेको छ।
चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा सञ्चालन भइरहेको यस परियोजनाका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। चिनियाँ र नेपाली गरी ८० जना कर्मचारीको समूहले अन्वेषण कार्यलाई तीव्रता दिएको छ।
परियोजनाको महत्त्व
परियोजना खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे, र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीको सहकार्यमा सञ्चालनमा छ। यस अन्वेषणले दैलेख क्षेत्रलाई पेट्रोलियम र प्राकृतिक ग्यास उत्पादनको सम्भाव्य स्थलको रूपमा थप महत्व दिने अपेक्षा गरिएको छ।
यो परियोजनाको सफलताले मुलुकको ऊर्जा आपूर्तिमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ। अन्वेषण सम्पन्न भएपछि थप अध्ययन र उत्पादनको प्रक्रिया अघि बढाइने जनाइएको छ।


