काठमाडौं, २ कात्तिक — देशभर हाल पश्चिमी वायुको प्रभाव देखिएको र कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा स्थानीय वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशबाट मनसुन समाप्त भएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा तापक्रम घट्न थालेको छ। अहिले काठमाडौं उपत्यकामा तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ भने आजको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।
विभागका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने अन्य भागमा मौसम सफा रहेको छ।
आज बिहान ६ः०० बजे जारी गरिएको मौसम बुलेटिनमा दिइएको जानकारी अनुसार, आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ र बाँकी भागमा मौसम सामान्य रहनेछ।
कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भागमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, आज राति पनि ती प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भागमा मौसम सफा रहने अनुमान गरिएको छ।


