सुनसरीको दुहबी नगरपालिका–३ मा पारिवारिक विवादले भयावह रूप लिँदा एक महिला गम्भीर घाइते भएकी छन्। श्रीमानले पेट्रोल खन्याएर आगो लगाएको घटनामा परेकी महिलाको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ।
शुक्रबार मुक्तिनाथ मन्दिर टोलमा बसोबास गर्दै आएका ३३ वर्षीय मुस्तफा शेखले घरेलु विवादका क्रममा आफ्नी २८ वर्षीया श्रीमती खुस्बु खातुनमाथि पेट्रोल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिए। झगडा चर्किँदै गएपछि शेखले यस्तो अमानवीय कृत्य गरेको प्रहरीको भनाइ छ।
घटना भएपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय दुहबीमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर गम्भीर रूपमा घाइते खुस्बुलाई उपचारका लागि सामुदायिक अस्पताल दुहबी पुर्याएको थियो। चिकित्सकका अनुसार उनको दुवै हात, घाँटी, छाती र अनुहारमा आगोले गहिरो चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
भारतको बिहार माइती भएकी खुस्बुको करिब डेढ वर्षअघि मुस्तफा शेखसँग विवाह भएको थियो। भारतमै काम गर्दै आएका शेख शुक्रबार घर फर्किएपछि विवाद सुरु भई यस्तो दर्दनाक घटना घटेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाले बताए।
सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि खुस्बुलाई नोबेल मेडिकल कलेज विराटनगर लगिएको थियो। त्यहाँ पनि थप उपचार आवश्यक देखिएपछि पारस अस्पताल विराटनगरमा रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आरोपी मुस्तफा शेखलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखेको छ। घटनामा प्रयोग भएको पेट्रोललगायत सामग्री संकलन गरी अनुसन्धान अघि बढाइएको एसपी थेबेले बताए। दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने प्रहरीको भनाइ छ।
पक्राउ परेका शेखविरुद्ध पीडितका माइती पक्षले ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएका छन्। प्रहरीले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया सुरु गरिसकेको जनाएको छ। साथै पीडित महिलाको उपचार, सुरक्षा र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
यस घटनाले दुहबी मात्र होइन, सम्पूर्ण सुनसरी जिल्लामा घरेलु हिंसाको गम्भीर यथार्थलाई पुनः सतहमा ल्याएको स्थानीयको भनाइ छ। घरेलु विवादको नाममा महिलामाथि हुने हिंसा अझै नियन्त्रणमा आउन नसकेको भन्दै स्थानीय समाजसेवीले चिन्ता व्यक्त गरेका छन्।


