
काठमाडौँ, जेठ १६ — सरकारले सञ्चालन अयोग्य भइसकेका वा ३० वर्षभन्दा पुराना सार्वजनिक तथा निजी सवारी साधनको लगत कट्टाका लागि कर सम्बन्धी विशेष छुट दिने घोषणा गरेको छ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो प्रावधान सार्वजनिक गरेका हुन्।
उनका अनुसार, ती पुराना वा सञ्चालन नहुने अवस्थामा पुगेका सवारी साधनको विवरण हटाउन अन्तिम दुई वर्षको आयकर तिरेमा बाँकी वर्षको कर मिनाहा गरिनेछ।
“पुराना तथा नचल्ने सवारी साधनको दर्ता हटाउन कर तिर्ने झन्झट हटाउन यो व्यवस्था गरिएको हो,” बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने।
सरकारको यो कदमले पुराना सवारी साधनको व्यवस्थापन सहज हुने र करदातालाई राहत पुग्ने अपेक्षा गरिएको छ।