वीरगंज, पर्सा । वीरगंज महानगरपालिकाले वर्षायाम आउनुअघि सहर डुबानमुक्त राख्न व्यापक तयारीस्वरूप मुख्य नाला सफाइ अभियानलाई तिव्रता दिएको छ।
वर्षा सुरु हुनुअघि मुख्य बजार क्षेत्र जलमग्न हुने जोखिम न्यूनीकरण गर्न हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्म फैलिएको प्रमुख नालाको सफाइ कार्य तीव्र गतिमा भइरहेको छ। छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फको सफाइ सम्पन्न भइसकेको छ भने अहिले दक्षिणतर्फ भन्सारसम्मको खण्डमा काम जारी छ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार, हरेक वर्षजस्तो डुबानको समस्या नहोस् भनेर मुख्य नाला सफाइलाई प्राथमिकतामा राखेर अघि बढाइएको हो। उनले मुख्यसँगै सहायक नालाहरूको पनि सफाइ भइरहेको जानकारी दिए।
“मुख्य नालाको अधिकतम भाग माटोले थुनिएर पानीको बहाव रोकिएको थियो,” प्रमुख सिंहले भने, “करिब ८० प्रतिशत वर्षाेपछिको पानी यही नालाबाट बग्ने भएकाले यसको सफाइ अत्यावश्यक थियो। अहिले सफाइपछि डुबानको समस्या हट्नेछ।”
महानगरले तीन वटा स्काभेटर र एक चेन स्काभेटरमार्फत नालाको सफाइ गरिरहेको छ। स्काभेटरले नसक्ने ठाउँमा मानव श्रमिक परिचालन गरिएको छ। दैनिकरूपमा २५ जना सफाइकर्मीहरू खटिएका छन्।
महानगरपालिकाका हरियाली तथा सरसफाइ संयोजक जयप्रकाश खेतानले दुई वर्षदेखि निरन्तर सफाइ भइरहेकाले सहर डुबानमुक्त रहेको बताए।
यसै क्रममा महानगर प्रमुख सिंहले नगरबासीलाई पनि नालामा फोहर फाल्न नदिन आग्रह गरेका छन्। “महानगरले मात्रै गरेर हुँदैन, नागरिकको सहभागिता र चेतनाको आवश्यकता छ,” उनले भने, “जनचेतना अभियान पनि सञ्चालन गरिनेछ, अटेर गर्नेहरूलाई कारबाहीसमेत हुनेछ।”
महानगरले वर्षायामलाई लक्षित गर्दै सरसफाइ अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ। नगरको समग्र जल व्यवस्थापनमा सुधार ल्याउन यस्ता अभियान नियमितरूपमा सञ्चालन गरिने बताइएको छ।


