
वीरगञ्ज, पर्सा । मुलुकको प्रमुख औद्योगिक सहर वीरगञ्जमा रहेको उद्योगी तथा व्यवसायीहरूको छाता संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घप्रति स्थानीय खुद्रा व्यवसायीहरूको असन्तुष्टि चुलिंदो छ। हालै सम्पन्न खुद्रा व्यवसायीहरूको भेलाले सङ्घप्रति गहिरो अविश्वास र असन्तुष्टि सार्वजनिक रूपमा प्रकट गरेको छ।
भेलामा सहभागी अधिकांश साना व्यवसायीहरूले सङ्घले ठूला उद्योगपतिहरूको मात्रै प्रतिनिधित्व गर्दै आएको, खुद्रा व्यवसायीका मुद्दा बेवास्ता गरेको र सदस्यता वितरण प्रक्रिया अपारदर्शी भएको गुनासो गरे। घण्टाघर नजिक मोबाइल पसल सञ्चालन गर्ने व्यवसायी राकेश गुप्ताले भने, “हामीलाई सङ्घले गन्दै गन्दैन, आवाज उठाउँदैन। हामीका समस्या कहिल्यै प्राथमिकतामा पर्दैनन्।”
सङ्घको सदस्यता नीति, नेतृत्व चयन प्रणाली र आम व्यवसायीको सहभागितामाथि समेत गम्भीर प्रश्न उठेका छन्। हाल सङ्घमा करिब ६०० मात्र सदस्य छन् भने केही प्रभावशाली व्यवसायीहरूले एकैजनाले एकभन्दा बढी फर्ममार्फत सदस्यता लिएको आरोप पनि उत्रिएको छ।
रानीघाटका किराना व्यवसायीले भने, “हामीलाई छलफलमा बोलाइए पनि हाम्रो गुनासो कहिल्यै सम्बोधन हुँदैन।” माइस्थानका कपडा व्यापारीले थपे, “सङ्घ ठूला व्यापारीको क्लब बनेको छ, हामीलाई प्राथमिकता छैन। सदस्यता लिन खोज्दा पनि अप्ठ्यारो पारिन्छ।”
हालै सम्पन्न निर्वाचन र शपथग्रहण समारोहप्रति पनि व्यवसायीहरूको उत्साह देखिएन। शपथ कार्यक्रममा व्यवसायीहरूको न्यून उपस्थिति देखिएको थियो। अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्व पनि सीमित समूहको निरन्तरता भएको भन्दै आलोचना गरिएको छ।
व्यवसायीहरूले वीरगञ्ज सुनचाँदी व्यवसायी सङ्घको पारदर्शिता र समावेशी प्रक्रियालाई उदाहरणीय भन्दै उद्योग वाणिज्य सङ्घलाई सुधार गर्न दबाब दिइरहेका छन्। उनीहरूले सामूहिक रूपमा सङ्घको सदस्यता लिन आवेदन दिने चेतावनी दिँदै, आवश्यक परे स्वतन्त्र व्यवसायिक संगठन गठन गर्ने घोषणा गरेका छन्।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ प्रदेशको आर्थिक मुटु वीरगञ्जका सबै व्यवसायीको साझा संस्था हुनुपर्ने अपेक्षा गरिए पनि व्यवहारमा खुद्रा व्यवसायी र साना उद्यमीहरू संस्थाबाट विमुख भइरहेका छन्। यसको समाधान खोज्नु अब सङ्घकै प्रतिष्ठा र अस्तित्वको सवाल बनेको छ।