
बीरगञ्ज, २४ वैशाख —
ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा व्यापक धाँधली र फर्जी गतिविधिहरू भएको आरोप लगाउँदै संयुक्त विद्यार्थी संगठनहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई छानबिनको मागसहित ज्ञापनपत्र बुझाएका छन्।
२०७८ सालको चैत्र ५ गते सम्पन्न निर्वाचनमा फर्जी नामांकन, फर्जी मतदान र अन्य अनियमित गतिविधिहरू देखिएको भन्दै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। ज्ञापनपत्रमार्फत उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने आवाज उठाएका छन्।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, जिल्लास्तरीय छानबिन समिति गठन गरिएको भनिए पनि अनुसन्धानको कुनै औपचारिक विवरण हालसम्म सार्वजनिक नभएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ।
“छानबिनको अवस्था, प्रारम्भिक निष्कर्ष वा प्रतिवेदन बारे अहिलेसम्म केही नखुल्नु चिन्ताजनक हो,” विद्यार्थी नेताहरूले बताएका छन्। उनीहरूले पारदर्शिता सुनिश्चित गर्दै जनचासोका विषयमा प्रशासन गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
संगठनहरूले समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न जोड दिँदै, यदि माग बेवास्ता गरियो भने आन्दोलनको चेतावनीसमेत दिएका छन्।
विद्यार्थी आन्दोलनबाट उठेका यस्ता विषयहरूलाई सम्बोधन नगर्ने हो भने शिक्षण संस्थामाथि आम सर्वसाधारणको विश्वास नै खस्किने उनीहरूको भनाइ छ।