वीरगंज — वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी विद्यार्थी भर्नाको विषयमा अनुसन्धानको माग गर्दै क्याम्पस प्रमुख र केही प्राध्यापकलाई कार्यकक्षमै रोकेर प्रदर्शन गरेका विद्यार्थी नेताहरु आज रिहा भएका छन्।
रिहा हुनेमा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल छन्। उनीहरुलाई प्रहरीले केही दिनअघि शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा नियन्त्रणमा लिएको थियो।
रिहाइपश्चात ती विद्यार्थी नेताहरुको स्वागत क्याम्पसका विभिन्न विद्यार्थी संगठनका सदस्यहरुले गरेको छ। समर्थन जनाउँदै विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरुले शैक्षिक संस्थाभित्र अनियमितता विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन्।
विद्यार्थी समूहहरुले फर्जी भर्ना प्रकरणको निष्पक्ष छानबिन गरिनु पर्ने मागलाई निरन्तर दबाब दिने बताएका छन्। क्याम्पस प्रशासनले भने विषयको अध्ययन गरी आवश्यक कदम चालिने जनाइएको छ।


