झापा — कनकाई नगरपालिका–४ अन्तर्गत कनकाई माई पुल नजिकै शनिबार बिहान एक शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा हड्कम्प मच्चिएको छ। पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ सडक छेउमा राखिएको कालो झोलाभित्र प्रेसर कुकर राखिएको र त्यसबाट तार निस्किएको अवस्थामा उक्त वस्तु देखिएको हो।
सूचना प्राप्त हुनासाथ झापा प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ। झापा प्रहरीका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पार्न नेपाली सेनाको चारआलीस्थित अरिदमन गणको बम डिस्पोजल टोलीलाई बोलाइएको छ।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई नियन्त्रणमा लिई ‘शिल’ गरिएको छ भने सर्वसाधारणलाई सो स्थान नजिक नजान अनुरोध गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


