
वीरगञ्ज, पर्सा — तीन वर्षअघि पोखरियामा भएको झगडामा एक व्यक्तिको ज्यान गएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीको सक्रियतामा पोखरिया नगरपालिका–५ सतवरियाका ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई वैशाख २२ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, २०७९ साल वैशाख ९ गते पोखरिया नगरपालिका–४ मा रहेको बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा दुई समूहबीच झगडा भएको थियो। सो क्रममा शंकर प्रसाद महतो चाई गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको २०७९ असार ११ गते काठमाडौंस्थित शहीद गंगालाल अस्पतालमा मृत्यु भएको थियो।
उक्त झगडाको मूल कारण सन् २०७६ साल वैशाख ४ मा सम्पन्न विवाहलाई मानिएको छ। पोखरिया–६ का धर्मेन्द्र प्रसाद चौहान र पोखरिया–५ की निषा कुमारी चौहानबीच विवाहपछि बेहुली बिदाइका विषयमा उत्पन्न मनमुटाव क्रमशः विवादमा परिणत भएको अनुसन्धानमा खुलेको छ। यही विवादले हिंसात्मक रुप लिँदै ज्यान जाने अवस्थासम्म पुगेको प्रहरीको भनाइ छ।
पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा चौहान फरार रहेका थिए। उनको खोजी भइरहेकै क्रममा, अन्ततः तीन वर्षपछि सतवरियाबाट पक्राउ गर्न प्रहरी सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, चौहानमाथि ज्यानसम्बन्धी कसूरमा मुद्दा चलाइएको छ। उनलाई जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।