काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै अघि बढ्न सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्व चयनदेखि उम्मेदवार छनोटसम्म पार्टीभित्र व्यापक सुधार गरिएको दाबी गरे।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक असन्तुष्टिमा अल्झिने अवस्था अब नरहेको स्पष्ट छ। अघिल्लो निर्वाचनको तुलनामा यसपटक कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहार अघि सारेको उनले जानकारी दिए। साथै, महिला उम्मेदवारको सहभागिता पनि यसपटक बढाइएको र आगामी दिनमा अझै विस्तार गरिने उनको भनाइ थियो।
उपसभापति शर्माले पार्टीभित्रका सबै धार र समूहबीच सन्तुलन कायम गर्दै न्यायोचित ढंगले टिकट वितरण गरिएको बताए। विभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको उल्लेख गर्दै, यदि भावी प्रधानमन्त्रीका उम्मेदवारबीच बहस आवश्यक परे कांग्रेस आफ्ना उम्मेदवारलाई जुनसुकै मञ्चमा पठाउन तयार रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा उनले पार्टीले तयार पारेको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न सबै तहका नेता–कार्यकर्तालाई निर्देशन पनि दिए। साथै, देश निर्माणको स्पष्ट दृष्टिकोण समेटिएको कांग्रेसको घोषणापत्र छिट्टै सार्वजनिक गरिने जानकारीसमेत शर्माले दिएका छन्।


