
एएनएन न्यूज, चितवन, ३१ जेठ
विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ब्लड डोनर्स सोसाइटी चितवनले भरतपुरको उद्योग सङ्घ प्रदर्शनी केन्द्रमा भव्य रक्तदान महोत्सव सम्पन्न गरेको छ। शनिबार आयोजित उक्त कार्यक्रममा १,७१७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्, जसले रगतको चरम अभाव झेलिरहेको स्वास्थ्य सेवामा राहत पुर्याउने विश्वास लिइएको छ।
भरतपुर महानगरकी मेयर रेनु दाहालले एक विशेष समारोहबीच महोत्सव उद्घाटन गर्दै, चितवन अब स्वास्थ्य सेवा केन्द्रका रूपमा उदाउँदै गएको सन्दर्भमा यस्ता कार्यक्रमहरूले ठूलो महत्त्व राख्ने बताइन्। “रक्तदानले कुनै अपरिचितलाई पनि जीवन दिने शक्ति राख्छ,” उनले भनिन्, “रक्तदाताहरूको सम्मान र प्रोत्साहन जरुरी छ।”
रक्तदान बिहान ७ बजेदेखि बेलुकीसम्म चल्यो। ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालका अनुसार रत्ननगर क्षेत्रबाट मात्र करिब ५०० जनाले सहभागिता जनाएका थिए।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले युवाहरूलाई रक्तदानप्रति सजग गराउनु अहिलेको आवश्यकता भएको धारणा राखे। उनले सामाजिक भ्रम हटाउँदै निरन्तर जागरण आवश्यक रहेको बताए।
ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष अर्जुन अधिकारीले “एक घर, एक रक्तदाता” अभियानअन्तर्गत जिल्लाभर रक्तदाता सञ्जाल विस्तार भइरहेको जानकारी दिए। उनले समाजमा रक्तदानको संस्कार विकसित गर्न यस्तो आयोजनाले बल पुग्ने विश्वास व्यक्त गरे।
महोत्सवमा १,५०० युनिटको लक्ष्य राखिएको भए पनि लक्ष्यभन्दा बढी रगत सङ्कलन भएको भन्दै आयोजकले सहभागी सबै रक्तदाताप्रति आभार व्यक्त गरेका छन्। विशेष अवसरमा सय पटकभन्दा बढी रक्तदान गरिसकेका व्यक्तिहरूलाई सार्वजनिकरूपमा सम्मान गरिएको थियो।
सोसाइटीका अनुसार चितवनका अस्पतालहरूमा दैनिक झण्डै १५० युनिट रगतको खपत हुन्छ, तर औसतमा ३०–४० युनिट मात्र उपलब्ध हुने अवस्था छ। यस्तो अवस्थामा महोत्सवले माग र आपूर्तिबीचको खाडल पूर्ति गर्न उल्लेखनीय भूमिका खेलेको बताइएको छ।
कार्यक्रमले रक्तदानप्रति सकारात्मक धारणा फैलाउनुका साथै नयाँ रक्तदाता उत्पादनमा पनि सशक्त सन्देश दिएको छ। सोसाइटीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने अठोट सार्वजनिक गरेको छ।