चितवनबाट दिएको एक स्पष्ट र आक्रामक अभिव्यक्तिमा रवि लामिछानेले आफूलाई लक्षित गरी फैलाइँदै आएका हल्लाप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले चुनाव जिते पनि सांसद वा मन्त्री बन्न नपाउने भनेर पुनः भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसलाई अस्वीकार गरेका हुन्।
रविले भने, “भनिँदैछ– रवि फेरि चुनाव उठे पनि सांसद बन्न पाउँदैन, मन्त्री बन्न पाउँदैन। ठिक छ, म सांसद नबनुँला, मन्त्री नबनुँला। तर म मान्छे त बन्न पाउँछु नि।”
उनले पद र हैसियतभन्दा पनि इमानदारी र मानवीय मूल्य ठूलो हुने उल्लेख गर्दै आफू मान्छे बनेरै देशमा मौलाएको लुटतन्त्रविरुद्ध उभिने स्पष्ट संकेत गरे। “म केवल मान्छे मात्रै बनेँ भने पनि तिमीहरूको लुटतन्त्रको महल ढालेरै छोड्छु,” भन्दै उनले आफ्नो संघर्ष जारी रहने चेतावनी दिए।
उनको यस भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। समर्थकहरूले रविको अभिव्यक्तिलाई साहसी र जनमुखी भन्दै स्वागत गरेका छन् भने आलोचकहरूले यसलाई भावनात्मक राजनीति भनेका छन्। चितवनको यो सन्देशलाई धेरैले आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेर्न थालेका छन्।


