
काठमाडौं– प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चार बालिकालाई बन्धक बनाई यौन व्यवसायमा खटाउने एक महिलालाई पक्राउ गरेको छ।
नुवाकोटको तादी गाउँपालिका–३ घर भएकी र हाल काठमाडौंको मुलपानीमा बस्दै आएकी ४३ वर्षीय सीता गोतामेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ब्युरोको टोलीले उनलाई शुक्रबार मुलपानीबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार गोतामेले मुलपानीस्थित एक घर भाडामा लिएर बालिकालाई भाडा माझ्ने, सरसफाइ गर्ने काममा खटाउने भन्दै मासिक २० हजार रुपैयाँको प्रलोभन देखाएर यौन व्यवसायमा लगाउने गरेको थाहा भएको छ।
बालिकाहरुलाई जबरजस्ती यौन व्यवसायमा खटाएर प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको आरोप गोतामे माथि लागेको छ। पक्राउ परेकी गोतामेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।