वीरगञ्ज, असार ३० — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफू मुछिएको भनिएको घुस प्रकरणका कारण उब्जिएको विवादबीच अन्ततः मन्त्री पद त्याग गरेका छन्। उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सोमबार बोलाएर स्पष्ट निर्देशन दिएपछि गुप्ताले आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्। गुप्ताले आफूविरुद्ध लागेको आरोपमा सत्यतथ्य पत्ता लगाउन सजिलो होस् भनेर राजीनामा दिएको बताएका छन्।
“केही दिनदेखि मेरो नाम अनलाइन र सामाजिक सञ्जालमा घुस काण्डसँग जोडेर प्रचार भइरहेको छ। मैले नगरेको कामको आरोप लाग्दा पीडित महसुस गरेको छु। सत्यको उजागर होस् भन्ने चाहनाले पद त्याग गरेको हुँ,” गुप्ताले आफ्नो पोस्टमा लेखेका छन्।
गुप्ताले घुसको अडियो ‘एआई’ प्रविधिको अत्याधिक दुरुपयोग गरी बनाइएको दाबी गर्दै उक्त कुराको सत्यता उजागर गर्न राजीनामा आवश्यक भएको बताएका छन्।
अडियोले थपिएको विवाद
कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि ५३ लाख र एमाले गण्डकी प्रदेशका नेता खेमबहादुर पुनलाई भूमि आयोगको प्रमुख बनाउने सौदाबाजीमा २५ लाखको लेनदेन गरिएको भनिएको करिब १६ मिनेट लामो अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता आलोचनाको घेरामा परेका थिए।
अडियोमा गुप्ता एक महिला र बिचौलियासँग आर्थिक लेनदेनबारे कुरा गरिरहेको सुनिन्छ। यससँगै उजुरीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा झोलामा राखिएको रकम, नोटका गड्डी र नोट नम्बरसहितको तस्वीरसमेत पेस गरेका छन्।
अर्को मन्त्रीको नाम पनि जोडियो
अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नामसमेत मुछिएपछि विवादले झनै गम्भीर मोड लिएको छ। यद्यपि, अधिकारीले आफूमाथिको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्।
राजनीतिक असर र सुशासनमाथि प्रश्न
गुप्ताको राजीनामाले सरकारलाई तत्कालिक रूपमा केही नैतिक दबाबबाट मुक्ति दिलाए पनि समग्र घटनाले सुशासनको दावीमाथि प्रश्न उठाएको छ। सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धमा समेत तनाव थपिएको छ।
यो प्रकरणमा अख्तियारको निष्पक्ष र पारदर्शी अनुसन्धानको अपेक्षा गरिएको छ। गुप्ताको राजीनामा यो प्रकरणको अन्त्य नभई अनुसन्धानको नयाँ चरणको सुरुवात मानिएको छ।


