धनगढी, गोदावरी – धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्रीबाट हालसम्म रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ।
गत आर्थिक वर्षमा केन्द्रले रु २५ लाख ५५ हजार आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षको आठ महिनामा मात्रै रु २० लाख आम्दानी गरेको छ।
निजी कम्पनीलाई ठेक्का, पाँच वर्षको सम्झौता
धनगढी उपमहानगरपालिकाले २०८० साउनदेखि सञ्चालनमा ल्याएको यो केन्द्र चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का दिइएको छ। २०८१ देखि २०८६/८७ सम्मका लागि नन्दादेवी सेवा केन्द्रलाई ठेक्का दिइएको छ। सम्झौताअनुसार पहिलो वर्षको भुक्तानीपछि हरेक वर्ष १० प्रतिशतले ठेक्का रकम बढ्ने व्यवस्था गरिएको छ।
९ वटा वडाबाट दैनिक २१ टन फोहर सङ्कलन
धनगढी उपमहानगरपालिकाका १९ वडामध्ये हाल नौ वडाबाट मात्रै दैनिक २१ टन फोहर सङ्कलन गरिन्छ। बाँकी १० वटा वडामा सरसफाइ अभियानमार्फत डस्बिन राखेर फोहर सङ्कलनको व्यवस्था गरिएको छ।
फोहरलाई प्लास्टिक, फलाम, टिन, आल्मुनियम, रबर, जुत्ता, कागजलगायत छुट्याएर बिक्री गरिन्छ। तथापि, कुरकुरे र चाउचाउका प्लास्टिकजन्य फोहर व्यवस्थापन भने चुनौती बनेको छ। यस्तो फोहरलाई स्थानीय वडाको सिफारिसमा खाली जमिनमा व्यवस्थापन गर्नुपरेको छ।
फोहरबाट बायोग्यास उत्पादन र पुनः प्रयोग
फोहर व्यवस्थापनमा ७० प्रतिशत पुनः प्रयोगमा ल्याइन्छ। कुहिने फोहरबाट बायोग्यास निकाल्ने व्यवस्था गरिएको छ। सङ्कलित फोहरलाई कागज, प्लास्टिक, धातु, कपडा, सिसा, काठ, तार, रेडियो, टिभी, मोबाइललगायत छुट्याएर वर्गीकरण गरिन्छ।
यस केन्द्रमा तीन वटा मेसिनमार्फत फोहर टुक्र्याउने, दबाउने काम हुन्छ। १५ वर्षका लागि वार्षिक रु १ लाख २५ हजार भाडा तिर्नेगरी दुई बिघा जमिन लिइएको छ। केन्द्र सञ्चालनका लागि रु ३० लाख लगानी गरिएको छ।
फोहरको व्यापार र रोजगारी सिर्जना
धनगढी बजारसहित विराटनगर, भैरहवा, दाङलगायतका ठाउँमा सङ्कलित फोहर बिक्री गरिन्छ। हाल सूक्ष्म वर्गीकरण केन्द्रमा १४० जनाले रोजगारी पाएका छन्। केन्द्रको प्रभावकारिता हेर्न देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू अवलोकनका लागि आउने गरेका छन्।
— रासस


