
हेटौंडा, मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको खोजी कार्यले नयाँ मोड लिएको छ। भूगर्भविद्को एक टोलीले विशेष प्रविधिको सहायताले गाडी रहेको हुनसक्ने स्थान पहिचान गर्न सफल भएको छ।
गत शुक्रबार ना.४.च. ४८३३ नम्बरको बोलेरो गाडी घाँस काट्ने मेसिन बोकेर गैरीगाउँको भित्री सडकमा रोकिराखिएको थियो। स्थानीयको अनुसार गाडीको अगाडिको पांग्रा जमिनमा भासिएपछि निकालन खोज्दा एक्कासी गाडी सम्पूर्णरुपमा जमिनमुनि बिलाएको थियो। तीन दिनसम्म खोजी गर्दा गाडीको अत्तोपत्तो नलागेपछि विशेषज्ञ टोलीलाई बोलाइएको हो।
भूगर्भविद् कृष्ण पाण्डेको नेतृत्वमा आएको टोलीले प्रोटोन म्याग्नेटोमिटर नामक प्रविधिको प्रयोगमार्फत गाडी खोजी कार्यलाई अगाडि बढाएको छ। “गाडीमा धातु तथा चुम्बकीय वस्तुहरू धेरै हुने भएकाले उक्त प्रविधिको प्रयोग गर्दा जमिनमुनि रहेको सम्भावित स्थानको पहिचान गर्न सकिन्छ,” पाण्डेले जानकारी दिए।
उनका अनुसार गाडी हराएको भनिएको स्थानको केही पर, पूर्वतर्फ एक क्षेत्रमा अन्य स्थानको तुलनामा उच्च चुम्बकीय संकेत देखिएको छ। “हामीले प्रारम्भिक रुपमा सम्भावित लोकेसन पत्ता लगाएका छौँ। अब अर्को प्रविधिको माध्यमबाट गहिराइ नाप्ने प्रयासमा छौँ,” पाण्डेले भने।
हाल भूगर्भविद्को टोली उक्त लोकेसनमा थप परीक्षण गर्दैछ। यता स्थानीय बासिन्दाहरू भने जमिनको भासिन थालेपछि त्रसित बनेका छन्। घटनास्थल वरिपरिका क्षेत्रमा जमिन भासिने जोखिमलाई लिएर सतर्कता अपनाइएको जनाइएको छ।
सडक भासिने र गाडी हराउने घटना एकाएक हुँदा स्थानीय प्रशासन पनि सक्रिय बनेको छ। यतिबेला घटनास्थलमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् भने प्राविधिक टोलीलाई आवश्यक सहयोग पुर्याइएको छ।