
गुल्मी, कात्तिक ७ – गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा एक मोटरसाइकलमा आगलागी भएको छ। उक्त आगलागीका कारण मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ। गुल्मी दरबार-४ निवासी ३० वर्षीय कृष्ण बुचाको लु ८ प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार, बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरेपछि स्टार्ट गर्ने प्रयास गर्दा मोटरसाइकलमा आगलागी भएको हो। आगोले मोटरसाइकलमा पूर्णरूपमा क्षति पुर्याएको भए पनि कुनै मानवीय क्षति भने हुनबाट जोगिएको पोखरेलले बताए।
नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। यस घटनाबाट पेट्रोल पम्प तथा वरपरको क्षेत्र भने क्षति हुनबाट जोगिएको छ।
