निरन्जन शाह,
बहुदरमाई (पर्सा) — परिवर्तन नेपाल फाउन्डेशनको आर्थिक सहयोग र समाजसेवी राकेश यादव ‘मितवा’को सक्रिय पहलमा बहुदरमाई नगरपालिका–५ स्थित एक गरीब किसानको लागि नयाँ घर निर्माण गरी आज गृह प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस अभियानमा स्थानीय तह, सामाजिक अभियन्ता तथा सहयोगीहरूको समेत महत्वपूर्ण सहभागिता रहेको थियो। वर्षौंदेखि जिर्ण अवस्थामा बस्दै आएका ती किसानका लागि नयाँ घर बनेपछि उनको जीवनमा आशा र भरोसाको नयाँ किरण पलाएको छ।
कार्यक्रममा बोल्दै परिवर्तन नेपाल फाउन्डेशनका अध्यक्ष विशेष साहले भने, “सामाजिक न्याय र समानताको आधारमा हामी अझ धेरै यस्ता परियोजनामा सहभागी हुनेछौं। एक परिवारको जीवनमा परिवर्तन ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो।”
स्थानीय समाजसेवी राकेश यादव ‘मितवा’ले यो पहल भविष्यमा पनि निरन्तर रहने बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “समाजको दुःख देख्न सके मात्र साँचो परिवर्तन सम्भव हुन्छ। हामी यही बाटोमा अघि बढिरहेका छौं।”
गृह प्रवेश कार्यक्रममा स्थानिय जनप्रतिनिधि, युवाहरू, महिलाहरू, तथा अन्य सामाजिक अभियन्ताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
सहयोगी सम्पूर्ण दाताहरू र शुभेच्छुकप्रति आयोजकले हार्दिक आभार प्रकट गरेका छन्।


