बारा, माघ ८ – ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री गढ़ीमाई मन्दिरमा भएको तोडफोड र असामाजिक गतिविधिको विरोधमा नेपाल जनता पार्टी (नेजपा) बारा जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र मानिने गढ़ीमाई मन्दिरमाथि भएको तोडफोडलाई गम्भीर रूपमा लिँदै घटनामा संलग्न दोषीहरूमाथि तत्काल कडा कारबाही गर्न माग गरिएको छ।


नेपाल जनता पार्टीले गढ़ीमाई मन्दिरले बारा जिल्ला मात्र होइन, सिङ्गो नेपाललाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराएको भन्दै यसको ऐतिहासिक र धार्मिक महत्त्वलाई संरक्षण गर्न आवश्यक पहल गर्न प्रशासनलाई आग्रह गरेको छ। हालै सम्पन्न पंचवर्षीय गढ़ीमाई मेलामा लाखौं भक्तजनहरूको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले यस घटनालाई धार्मिक आस्थामाथिको प्रहारका रूपमा लिएको जनाएको छ।
माघ ३ गते राति केही व्यक्तिहरूले योजनाबद्ध रूपमा मन्दिरमा तोडफोड गरेका थिए। यस घटनाले मन्दिरको गरिमा मात्र घटाएको होइन, हिन्दू समुदायलाई गहिरो चोट पुर्याएको पार्टीले ठहर गरेको छ।
ज्ञापनपत्रमा मन्दिरमा चढाइएका परेवाहरूलाई कसैले समातेर खाने घटनालाई समेत गम्भीर रूपमा लिएर विरोध जनाइएको छ। धार्मिक आस्थामा चोट पुर्याउने यस्ता गतिविधिमा संलग्न दोषीहरूलाई पत्ता लगाई कडा कानूनी कारबाही गर्न पार्टीले जोडदार माग गरेको छ।
ज्ञापनपत्र बुझाउने क्रममा नेजपाले प्रमुख जिल्ला अधिकारीलाई यो घटना सामान्य नभई गम्भीर विषय भएको भन्दै तत्काल छानबिन गरेर दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। पार्टीले दोषीमाथि कारबाही नगरे आन्दोलनको बाटो अपनाउने चेतावनी समेत दिएको छ।
ज्ञापनपत्र बुझाउन वरिष्ठ नेता सन्तोषानन्द महाराजको नेतृत्वमा पुगेको टोलीमा केन्द्रीय सदस्य प्रह्लाद साह कलवार, गोपाल दास, पारस दुबेदी, अरुण चौधरी, बारा जिल्ला अध्यक्ष कृष्णा शुक्ला, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह कानू, र अन्य कार्यसमिति सदस्यहरू सहभागी थिए।
नेजपाले धार्मिक सहिष्णुतामा गम्भीर असर पर्ने यो घटनामा दोषीहरूमाथि तत्काल कारबाही गर्न प्रशासनलाई आग्रह गर्दै घटनाबारे छानबिनको काम तीव्र रूपमा अघि बढाउन माग गरेको छ। स्थानीय प्रशासनले दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन प्रतिबद्धता जनाएको छ।


