
काठमाडौं, १४ वैशाख — नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। संवैधानिक निकायमा भएको नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको भूमिकामाथि टिप्पणी गरेको भन्दै तीन जना कानुन व्यवसायीले थापाविरुद्ध मुद्दा हालेका हुन्।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दायर गरेको मुद्दा आज अदालतले दर्ता गरेको छ। प्रारम्भिक सुनुवाइका लागि आगामी मङ्गलबारका लागि पेशी तोकिएको अदालत स्रोतले जनाएको छ।
लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सर्वोच्च अदालतको ढिलासुस्तीप्रति टिप्पणी गरेका थिए। उनले संवैधानिक निकायमा भएका ५२ जनाको नियुक्ति सम्बन्धी रिटमा सर्वोच्च अदालतले लामो समयसम्म निर्णय नलिएर ‘झुलाइराखेको’ आरोप लगाएका थिए। थापाले, “अहिले अदालतले अख्तियार लगायतका संवैधानिक निकायको मामिलामा ‘तँलाई हान्दिउँ’ भन्ने शैलीमा डिल गरिरहेको छ,” भन्दै अदालतप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
२०७७ साल मङ्सिर १ गते, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् संवैधानिक निकायमा ५२ जनाको नियुक्ति गरेको थियो। सो नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको भए पनि अहिलेसम्म टुंगो नलागेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ।