निरन्जन शाह ,
काठमाडौं, मंसिर ९
एक युवतीलाई करिब ४ लाख रुपैयाँमा कुवेतमा बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका-५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका-६ का ५० वर्षीय माइला लामा तामाङ रहेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ब्यूरोका अनुसार ती युवतीलाई “फ्री भिसा र फ्री टिकट”का नाममा कुवेत पुर्याइएको थियो। त्यहाँ पुगिसकेपछि युवतीलाई ९०० केडी (झण्डै ३ लाख ९४ हजार रुपैयाँ) मा बेचेको पाइएको छ।
युवतीलाई घरेलु कामदारको नाममा यौन शोषण
४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै कुवेत पठाइएको थियो। कुवेतको अल्जारा भन्ने स्थानमा घरेलु कामदारको रुपमा राखेर ती युवतीलाई बेचबिखन गरिएको ब्यूरोका एसपी भावेश रिमालले जनाए।
बेचिएको स्थानमा ती युवतीले यौन शोषणको पनि सामना गर्नुपरेको थियो। ती युवती भागेर कुवेत प्रहरीले उद्धार गरेपछि मात्र घटनाको जानकारी बाहिर आएको हो।
नेपाल फर्किएपछि जाहेरी
कुवेत प्रहरीले ट्राभल्स डकुमेन्ट तयार गरेर उनलाई ९ कात्तिक २०८१ मा नेपाल फर्काउन सहयोग गर्यो। नेपाल फर्केपछि उनले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन्।
पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कानुनी कारबाही अघि बढाइएको छ।



