काठमाडौँ, बैशाख १०। भारतको जम्मु काश्मिरस्थित पाहलगाममा हिजो साँझ भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ। रुपन्देहीको बुटवल–११, कालिकानगरका ३२ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो। उनी आमा सँगै पर्यटकको रूपमा काश्मिर गएका थिए।
घटनामा न्यौपानेकी आमा पनि घाइते भएको जानकारी प्राप्त भएको छ। परराष्ट्र मन्त्री आरजु राणाले सामाजिक सञ्जालमार्फत सुदीपको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्। साथै, आमा न्यौपानेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
“सुदीपजस्तो युवाको दुखद निधनले म गहिरो पीडामा छु। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु,” मन्त्री राणाले लेखेकी छन्। उनले घटनाको कडा शब्दमा निन्दा गर्दै यस्तो क्रूर र अमानवीय कार्य स्वीकार्य हुन नसक्ने बताइन्।
नेपाल सरकारले घटनाको कूटनीतिक स्तरमा समेत ध्यान दिइरहेको जनाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार घटनाबारे थप विवरण संकलन कार्य भइरहेको छ भने भारतीय पक्षसँग निरन्तर सम्पर्कमा पनि रहेको जनाएको छ।
सुदीपको निधनले बुटवलमा समेत शोकको छायाँ परेको छ। स्थानिय बासिन्दाहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै घटनाको कडा निन्दा गरेका छन्।


