वीरगन्ज, १० माघ ।
जाडोको कठ्यांग्रिने मौसममा असहाय र विपन्न वर्गलाई लक्षित गर्दै वीरगन्ज कपडा बैंकले पर्सा जिल्लाको कालिकामाइ गाउँपालिका–४ मा नि:शुल्क कम्बल वितरण गरेको छ।
परशुरामपुर बलुवा टोलमा आयोजित कार्यक्रममा दलित समुदाय तथा एकल महिलाहरूलाई २० थान कम्बल प्रदान गरिएको वीरगन्ज कपडा बैंकका सदस्य तथा युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिए। उक्त कम्बल सहयोग संस्थाका सल्लाहकार तथा समाजसेवी राजेश बर्णवालले उपलब्ध गराएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष संजय कुमार साहले सेवा र सहयोग नै मानव जीवनको सर्वोच्च धर्म भएको उल्लेख गर्दै समाजका दिनदुःखी, असहाय र विपन्न वर्गप्रति सबैको दायित्व रहने बताए। उनले वीरगन्जबाट आएर सानो तर अर्थपूर्ण सहयोग पु¥याएको भन्दै वीरगन्ज कपडा बैंकको खुलेर प्रशंसा गरे।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी सिकन्दर देवान, बैंकका सदस्य केदार गुप्ता लगायत स्थानीय युवा, महिला तथा अग्रज व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले “कपडाको अभावमा कोही पनि नाङ्गो नहोस्” भन्ने मूल मन्त्रका साथ विगत सात वर्षदेखि कपडा संकलन र वितरण गर्दै आएको बताए। “तपाईंसँग बढी छ भने दिनुहोस्, आवश्यकतामा हुनुहुन्छ भने निःशुल्क लिनुहोस्” भन्ने अभियानलाई निरन्तरता दिँदै आएको उल्लेख गरे।
अध्यक्ष सिंहले आजको कम्बल सहयोग उपलब्ध गराउने समाजसेवी राजेश बर्णवालप्रति आभार व्यक्त गर्दै मानवीय सेवामा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा संस्थाका पदाधिकारी र सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।


