
काठमाडौं, वैशाख २४ — राजधानीको विशाल बजार क्षेत्रबाट ४० लाख रुपैयाँभन्दा बढी अवैध नगदसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत, कलकत्ताको यादवपुर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२३, ओमबहालमा बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका स्थायी घर भई हाल चन्द्रागिरि नगरपालिका–३, तिनथानामा बसोबास गर्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशाल बजारस्थित एक कम्पनी लिमिटेडको ग्राउण्ड फ्लोरबाट उनीहरूलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, उनीहरूको साथबाट ४० लाख ३२ हजार ५० रुपैयाँ नगद फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू उक्त रकमको श्रोत खुलाउन असफल भएको र रकम अवैध भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले रकमको श्रोत र संलग्नता बारे थप अनुसन्धान जारी रहेको जनाएको छ।