
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पाइपलाइन विस्तार र पानी आपूर्ति व्यवस्थापनका लागि भइरहेको प्रयास चाँडै नै सकारात्मक नतिजामा पुग्ने बताउनुभएको छ। नयाँ पाइपलाइन विस्तार भएका क्षेत्रहरूमा मेलम्चीको पानी छिट्टै वितरण गरिने मन्त्री यादवको प्रतिबद्धता छ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि सरकारको ध्यान गम्भीर रहेको बताउनुभयो। “नयाँ पाइप विस्तारको काम करिब सम्पन्न भएको छ। अहिले परीक्षण चलिरहेको छ, अब केही समयमै मेलम्चीको पानी वितरण सुरु हुन्छ,” उहाँले भन्नुभयो।
मन्त्री यादवले पानी चुहावट रोक्न तत्काल कदम चालिएको र यो समस्या समाधानका लागि कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो। “पाइपबाट चुहावट भएर पानी खेर गइरहेका क्षेत्रहरूको मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। केही दिनभित्र यो समस्या समाधान हुनेछ,” उहाँले थप्नुभयो।

सडक निर्माण र खानेपानी समस्या
सडक मर्मत तथा निर्माणको क्रममा पाइप फुट्ने र खानेपानी आपूर्ति अवरुद्ध हुने समस्या उठाउँदै मन्त्री यादवले निर्माण कम्पनीहरूको लापरवाहीप्रति गुनासो गर्नुभयो। “सडक बनाउने क्रममा हाम्रा पाइप फुटाइन्छन्, जसको असर सिधै जनतामा पर्छ। यसबारे उचित समाधान खोजिनुपर्छ,” उहाँले भन्नुभयो।
नयाँ क्षेत्रहरूमा पाइप विस्तारको तयारी
उपत्यकाको नारायणगोपाल चोकमा नयाँ पाइप विस्तारको तयारी भइरहेकाे र केही दिनभित्र सामाखुशी र बालुवाटार क्षेत्रसम्म शुद्ध पानी पुर्याइने मन्त्री यादवले बताउनुभयो। “सडक विभागसँग सहकार्य गरेर काम सुरु गर्ने योजनामा छौँ। यो विस्तारले उपत्यकाको धेरै समस्यालाई समाधान गर्नेछ,” उहाँले भन्नुभयो।
देशव्यापी शुद्ध पानी अभियान
मन्त्री यादवले देशका अन्य क्षेत्रमा पनि खानेपानीको सहज पहुँच सुनिश्चित गर्न प्रयास जारी रहेको जानकारी दिनुभयो। “कुनै पनि नेपालीले खानेपानी अभावको सामना गर्न नपरोस् भन्ने सरकारको प्राथमिकता हो। योजनाबद्ध ढंगले घरघरमा धारा पुर्याउने र शुद्ध पानी वितरण गर्ने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो।
सरकारले मेलम्ची परियोजनाको प्रभावकारी कार्यान्वयनका साथै नयाँ आयोजनाहरू अघि बढाएर पानीको अभाव समाधान गर्न आवश्यक सबै कदम चालिरहेको मन्त्री यादवको धारणा छ।


