काठमाडौँ — नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौन शोषण तथा वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्यूरोको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ बुढानिलकण्ठ–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली–१२ की ४० वर्षीया गीता कुमारी आचार्य, सल्यान कुमाख–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा–१ का ४२ वर्षीय हरिभक्त गिरी तथा कैलाली गौरीगंगा–६ का ४९ वर्षीय भिम बहादुर साउद रहेका छन्।
प्रहरीका अनुसार काठमाडौँका डान्सबार, क्लब, स्पा सेन्टर, खाजाघर, दोहोरी सेन्टर र गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती यौन गतिविधिमा लगाउने गरिएको भन्ने सूचनाका आधारमा छानबिन अगाडि बढाइएको थियो। सोही क्रममा ठमेलको गोल्डेन स्पा, चावहिलको फायर लाउन्ज एण्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट आठ जना नाबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


