काठमाडौँ — जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा गत मंगलबार भएको आतंकवादी हमलामा ज्यान गुमाएका २६ निर्दोष नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार काठमाडौंस्थित भारतीय दूतावासले विशेष कार्यक्रम आयोजना गरेको छ। उक्त घटनामा एक जना नेपाली नागरिकको समेत दुःखद निधन भएको पुष्टि गरिएको छ।
कार्यक्रममा भारत र नेपालका उच्च तहका अधिकारीहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा सुरक्षासम्बन्धी वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम उद्घाटन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आतंकवाद विरुद्ध साझा प्रतिबद्धता अझ बलियो बनाउने दृढता व्यक्त गरे। ‘शान्ति र सहअस्तित्वका हाम्रो यात्रालाई यस्ता हिंसात्मक घटनाले रोक्न सक्दैन,’ राजदूत श्रीवास्तवले स्पष्ट पार्नुभयो। उहाँले नेपाल र भारत मिलेर आतंकवाद विरुद्ध लड्ने र नागरिकहरूको सुरक्षित भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो।
शोक सभामा नेपालको परराष्ट्रमन्त्री आरजू राणा देउवा, कांग्रेस नेता शेखर कोइराला, पूर्व परराष्ट्र मन्त्री महन्थ ठाकुर, नेता एनपी साउद लगायतका विशिष्ट व्यक्तिहरू सहभागी थिए।
कार्यक्रमका क्रममा भारतीय दूतावासले हालै पाकिस्तानी सेनाप्रमुखद्वारा गरिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै, त्यसले आतंकवादलाई प्रोत्साहन गर्ने र क्षेत्रीय तनाव झन् चर्काउने उल्लेख गरेको छ।
श्रद्धाञ्जली सभामा भारतीय दूतावासले उपस्थित सबैप्रति आभार प्रकट गर्दै नेपाल–भारतबीचको स्थायी र दृढ साझेदारीलाई थप सुदृढ बनाउने प्रतिवद्धता दोहोर्याएको थियो। परराष्ट्रमन्त्री देउवा र राजदूत श्रीवास्तवले आपसी समझदारी, मानव अधिकारको रक्षा र शान्ति स्थापनाका प्रयासहरूलाई अझ तीव्रता दिने अठोट व्यक्त गरे।


