काठमाडौँ, पुस ५: खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट रोक्न तत्काल कदम चाल्न निर्देशन दिएका छन्।
हालै काठमाडौँका विभिन्न स्थानमा पाइप फुटेर पानी लिक हुने र खेर जाने समस्या बढ्दै गएको गुनासो प्राप्त भएपछि मन्त्री यादवले सम्बन्धित निकायलाई तत्काल मर्मत कार्य सुरु गर्न आग्रह गरेका छन्। उहाँले पानी चुहावटका कारण जनतालाई खानेपानीको आपूर्तिमा समस्या भइरहेको उल्लेख गर्दै प्रभावकारी समाधान खोज्न निर्देशन दिनुभएको हो।
मन्त्री यादवले भन्नुभयो, “पानीको अभाव झेलिरहेका नागरिकलाई लिकेज भएर खेर गइरहेको पानीले थप समस्या निम्त्याएको छ। तुरुन्तै यी पाइप मर्मत गरी शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्न आवश्यक छ।” साथै, लिक भएको पानीमा फोहर मिसिने सम्भावना रहेकोले नागरिकको स्वास्थ्यमा असर पर्ने जोखिमका सम्बन्धमा समेत सचेत रहन कर्मचारीहरुलाई निर्देशन दिए।
मन्त्री यादवले मेलम्ची परियोजनाबाट ल्याइएको शुद्ध पानी काठमाडौँवासीलाई यथाशक्य चाँडो उपलब्ध गराउन पाइपलाइनको मर्मत तथा नयाँ पाइप विस्तारको काम छिटो सम्पन्न गर्न आदेश दिएका छन्।
यस क्रममा, मन्त्री यादवले ईन्द्रचोक, न्युरोड, असनजस्ता क्षेत्रको स्थलगत अनुगमन समेत गरे। उनले अनुगमनका क्रममा पाइपलाइन विस्तार कार्यमा ढिलासुस्ती नगर्न र मेलम्चीको पानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बद्ध निकायहरुलाई सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यकाका जनताले सहज रूपमा मेलम्चीको पानी उपभोग गर्न सक्ने वातावरण बनाउन पाइपलाइन विस्तार तथा मर्मत कार्यमा सरकारले प्राथमिकता दिने बताएका छन्।


