
काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड यात्रा सकिएर स्वदेश फर्किएपछि सरकार ढल्ने आशंका फैलाउनेहरू अहिले निराश भएको टिप्पणी गरेका छन्।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले देउवाको आगमनपछि सरकार स्थिर रहने स्पष्ट भएपछि गलत प्रचार गर्नेहरू गल्न थालेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले सांसदहरूलाई यस्तो भ्रममा नफसी आफ्नो कर्तव्य र लक्ष्यमा केन्द्रित रहन आग्रह गरे। उनले दुई प्रमुख दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि व्यावहारिक र सन्तुलित नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारी गरिरहेको जानकारी समेत दिए।
प्रतिगमनकारी शक्ति आन्दोलनको नाममा हिंसात्मक र संविधानविपरीत गतिविधि गरिरहेको भन्दै ओलीले त्यस्ता कार्यविरुद्ध दृढरुपमा उभिनुपर्ने बताएका छन्। उनले कानुनअनुसार आवश्यक परेमा यस्ता गतिविधिलाई नियन्त्रण गर्न सरकारले कठोर कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिए।
अध्यक्ष ओलीले ‘एमाले मिसन २०८४’ को सफल कार्यान्वयन गरी पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा उभ्याउन आन्तरिक एकता र पारस्परिक सहयोग अपरिहार्य रहेको बताए।
सांसदहरूलाई सम्बोधन गर्दै उनले दस्तावेजहरू गहिरो विश्लेषण गरी परिस्थितिको सही मूल्याङ्कन गर्दै जनताको समस्या पहिचान र समाधानमा अग्रसर हुन निर्देशन दिए। साथै, मर्यादित र तथ्यपरक ढंगमा जनचासोका मुद्दाहरू उठाउन पनि सांसदहरूलाई ओलीले आह्वान गरे।