
काठमाडौं — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा वीरगञ्जकी विद्यार्थी प्रिसा शाह मृत भेटिएको घटनामा सभामुख देवराज घिमिरेले गम्भीर चासो व्यक्त गर्दै भारतसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन सरकारलाई निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रसंगमा प्रतिक्रिया दिँदै सभामुख घिमिरेले यो घटना केवल व्यक्तिगत शोकको विषय नभई सम्पूर्ण राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग गाँसिएको गम्भीर प्रश्न भएको बताए।
उनले भने, “उज्यालो भविष्यको सपना बोकेर विदेशिएका हाम्रा युवायुवतीहरूको यसरी एकपछि अर्को रहस्यमय मृत्यु हुनु दुर्भाग्यपूर्ण मात्र होइन, सरकारको उत्तरदायित्वसमेत हो।”
सभामुखले भारत सरकारसँग सत्यतथ्य पत्ता लगाउन उच्च तहमा संवाद गर्न र पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।
उल्लेखनीय छ, यसअघि पनि सोही शिक्षालयमा अध्ययनरत अर्की नेपाली छात्रा पनि रहस्यमय अवस्थामा मृत फेला परेकी थिइन्, जसले यो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
विदेशमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर पुनः चासोको विषय बनेको यस घटनाले सम्बन्धित निकायहरूलाई तत्काल ध्यान दिनुपर्ने अवस्था सिर्जना गरेको छ।