काठमाडौं – एशिया कप क्रिकेटअन्तर्गत आज समूह ‘ए’ का दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। दुवै टोलीले खेल्ने यो प्रतिस्पर्धालाई निकै प्रतिक्षित र रोचक मानिएको छ।
समूह चरणमा भारत र पाकिस्तानले आ–आफ्नो एक–एक खेल जितेर दुई–दुई अंक जोडिसकेका छन्। समान अंक भए पनि रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ।
भारतले यूएईविरुद्ध सहज ९ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेको थियो।
भारत–पाकिस्तानबीचको खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुनेछ।
यस संस्करणको एशिया कपमा दुई समूहमा विभाजित आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र ओमान रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ समावेश छन्।


