Oplus_16908288
काठमाडौं, पुस २ — नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ। मंगलबार साँझबाट मतदान गर्ने तयारी भए पनि प्रविधिक कारणले कार्यक्रम स्थगित गरिएको थियो।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विद्युतीय मतदान मेसिनमा समस्या देखिएपछि भोटिङ एक दिन पछाडि सारिएको हो। “मेसिनमा प्राविधिक त्रुटि आएपछि साँझका लागि तय गरिएको मतदान रोक्नुपर्यो,” उनले बताए।
भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। मतदानसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि भृकुटीमण्डपमै हुने जनाइएको छ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ।
तीन सय एक सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। महाधिवेशनमा सहभागी २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने तय भएको छ। मतदानपछि नयाँ नेतृत्वको टुंगो लाग्नेछ।


