
सगरमाथाको चुचुरो ३१ औँ पटक चुमेर कामी रिता शेर्पाले पुनः आफ्नै कीर्तिमान तोडेका छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै विश्व रेकर्डमा अर्को अध्याय थपेका हुन्।५५ वर्षका अनुभवी पर्वतारोही कामी रिताले मंगलबार बिहान ४ बजे भारतीय सेनाको टोलीसहित सगरमाथाको शिखरमा पाइला टेकेका थिए। उक्त टोलीको नेतृत्व लेफ्टिनेन्ट कर्नेल मनोज जोशीले गरेका थिए।गत वर्ष उनले ३० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए। यस वर्ष उनले पुनः शिखर चुम्दै त्यो कीर्तिमानलाई एक पाइला अघि बढाएका छन्।सोलुखुम्बुको थामे गाउँका कामी रिताले १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनले कञ्चनजङ्घा, मनास्लु र ल्होत्से लगायतका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू समेत ४५ पटकभन्दा बढी आरोहण गरिसकेका छन्।सेभेन समिट ट्रेक्सका छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, “एभरेस्ट म्यानले फेरि गरें! कामी रिता शेर्पालाई ऐतिहासिक ३१ औं आरोहणको शुभकामना!”यस पटक कामी रिताले आफैं मात्र नभई, टोलीका अन्य सदस्यहरूलाई पनि सफलतापूर्वक चुचुरोमा पुर्याएका छन्। निरन्तर आरोहण र साहसिक यात्रामार्फत उनले आफूलाई विश्वकै महान पर्वतारोहीका रूपमा स्थापित गरेका छन्।