काठमाडौं । भिसाको प्रयोजनभन्दा बाहिर गई नेपालमा लामो समय बस्दै आएका र शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना विदेशी नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन्। पक्राउ परेकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेको विभागले जनाएको छ।
अध्यागमनका अनुसार चिनियाँ नागरिक ठमेलको पकनाजोलस्थित एक होटलमा मासिक २० हजार रुपैयाँ तिरेर बस्दै आएका थिए। उनी सन् २०१२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेपछि पटक–पटक गरी १३ पटकसम्म व्यावसायिक भिसा लिएको खुलेको छ। अनुसन्धानका क्रममा उनले नेपालमा आधा दर्जनभन्दा बढी होटल तथा विभिन्न कम्पनीहरू दर्ता गरेको देखिए पनि वास्तविक लगानी र कारोबार भने नदेखिएको विभागको भनाइ छ।
उक्त चिनियाँ नागरिकले होटल, रेष्टुरेन्ट, कार्गो कम्पनी र सूचना प्रविधिसम्बन्धी गरी विभिन्न नाममा कम्पनी स्थापना गरेको भए पनि ती कम्पनीहरू भिसाको उद्देश्य विपरीत केवल नेपालमा बसाइँ लम्ब्याउन प्रयोग गरिएको आशंका अध्यागमनले गरेको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरू पछिल्लो चार वर्षदेखि पर्यटक तथा व्यावसायिक भिसामै रहेर विभिन्न विद्यालयमा अध्यापनलगायत काम गर्दै आएको पाइएको छ, जबकि यस्तो भिसामा काम गर्न कानुनी व्यवस्था छैन।
त्यसैगरी अमेरिकी नागरिक सन् २०१७ मा पहिलोपटक नेपाल आएका र २०२० पछि पुनः प्रवेश गरी हालसम्म नेपालमै रहेको खुलेको छ। उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा एक निजी कम्पनी दर्ता गरेको भए पनि ठेगाना भने ललितपुरको सैंबु देखाएको अनुसन्धानमा खुलेको छ।
प्रवक्ता ढकालका अनुसार गोदावरी नगरपालिकामा घर भाडामा लिएर अनुमति नलिई बालगृह सञ्चालन गरिएको पनि फेला परेको छ। उक्त स्थानमा आधिकारिक बोर्ड नभएको, आर्थिक रूपमा कमजोर १२ जना बालिकालाई आश्रय दिइएको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराइएको स्थानीयले बताएका छन्। भवनका भित्तामा धार्मिक सन्देशहरू लेखिएको समेत भेटिएको विभागले जनाएको छ।
अध्यागमनको नियन्त्रणमा परेपछि ती अमेरिकी नागरिकले नेपाल सरकार र प्रशासनविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएकोसमेत विभागले जानकारी दिएको छ। हाल दुवै जनामाथि थप अनुसन्धान भइरहेको अध्यागमनले जनाएको छ।


