
बारा जिल्लाको अमलेखगञ्जबाट प्रतिबन्धित औषधिसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान करीब ११:४० बजेतिर वीरगञ्जबाट हेटौडातर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारमा लागुऔषध भेटिएपछि उनीहरू पक्राउमा परेका हुन्।
ईलाका प्रहरी कार्यालय, अमलेखगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा “बिरगञ्ज ०१ बियू ३४८५” नम्बरको कार रोकेर तलासी लिएको थियो। तलासीको क्रममा ट्रामाडोल र ओनेरेक्स जस्ता नियन्त्रित औषधि फेला परेको प्रहरी स्रोतले जनाएको छ।
कारमा सवार दुई भारतीय नागरिकलाई तत्काल नियन्त्रणमा लिइएको छ भने उनीहरूको व्यक्तिगत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार पक्राउ परेकाहरू विरुद्ध थप अनुसन्धान अगाडि बढाइएको छ।
बरामद गरिएका औषधिको परिमाण, ती औषधिहरू कहाँबाट ल्याइएका हुन् र कुन प्रयोजनका लागि ल्याइएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।